विश्व दूरसञ्चार बजारमा अहिले चल्तीको दूरसञ्चार प्रविधिका रूपमा रहेको फोरजी नेपालमा सुरु भएको चार वर्ष पुग्न चार महिना मात्र बाँकी छ । पहिलोपटक २०७३ पुस १७ गते नेपाल टेलिकमले काठमाडौँ उपत्यका र पोखरामा एकैपटक सुरु गरेर नयाँ पुस्ताको फोरजीको नेपालमा औपचारिक प्रवेश गराएको थियो ।त्यसयता फोरजी सेवा विस्तारका लागि नेपालका तीनवटा दूरसञ्चार सेवा प्रदायकले यसमा अर्बौं लगानी गरे तर तथ्याङ्कले भने फोरजी प्रविधिका लागि गरिएको अर्बौं लगानीको प्रतिफल अझै लिन नसकेको देखिन्छ । उच्च गतिको मोबाइल इन्टरनेट सुविधासहितको फोरजी विस्तारको गति भने निकै ‘सुस्त’ छ ।

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार गत आर्थिक वर्ष २०७६/७७ मा नेपालमा जम्मा छ लाख २२ हजार मात्र फोरजी ग्राहक थपिएका छन् । फोरजीको यस्तो विस्तार पनि समान छैन ।

फोरजी विस्तारकै लागि करिब २० अर्ब रुपियाँ खर्चिएको नेपाल टेलिकमले गत आवमा जम्मा २६ ग्राहक मात्र थप गर्न सकेको छ । फोरजी सेवा सुरु गरेको तीन वर्ष आठ महिनाको यो अवधिमा टेलिकमका जम्मा आठ लाख ४४ हजार मात्रै फोरजी ग्राहक छन् ।