काठमाडौँ – २२ वर्षमा लागत इस्टिमेटभन्दा चारगुणा बढीमा सम्पन्न भएको मेलम्चीको खानेपानी आउन यस वर्ष पनि अन्योलका साथ समय लाग्ने भएको छ । दुई वर्षअघिको मेलम्ची बाढीले प्रमुख सुरुङमार्ग थुनिएपछि अस्थायी संरचना बनाएर सञ्चालनमा आएको आयोजनामा यस वर्षको बाढीले पुनः क्षति पु¥याएपछि अन्योलता बढेको हो । सुरुङमार्ग सारेपछि मात्र स्थायी समाधान निस्किने जिकिर गरिए पनि सोको निर्माण गर्न चार वर्ष लाग्ने भएपछि यसपालि पनि अस्थायी रूपमा पानी ल्याउने तयारी मेलम्ची खानेपानी आयोजनाको रहेको छ ।

 

बाढीले क्षति पु¥याएको मेलम्ची खानेपानीको मर्मत सक्न डेढ महिना लाग्ने भएपछि पानी आउन समय लाग्ने भएको हो । यद्यपि, खानेपानीमन्त्री महिन्द्र राय यादवले भने मर्मत सम्भार भई नै रहने र अस्थायी रूपमा भए पनि यसै महिनाभित्र पानी ल्याउने बताए । मेलम्ची खानेपानी आयोजना विकास समितिले पनि अस्थायी रूपमा भए पनि पुनः पानी ल्याउने तयारी भइरहेको जनाएको छ । १५ चैत २०७८ मा पूरै काम नसकिँदै उद्घाटनको होडबाजी गर्दै पहिलोपटक काठमाडौं उपत्यकामा पानी वितरण थालिएको थियो । तत्कालीन खानेपानीमन्त्री, प्रधानमन्त्री, राष्ट्रपतिलगायतले विभिन्न समयमा विभिन्न नाम दिई ताम्रपत्रमा नाम राख्ने होडका साथ पानी ल्याइएको थियो । सोही वर्षको असार र साउनमा मेलम्ची र इन्द्रावतीमा आएको भीषण बाढीले आयोजनामा ठूलो क्षति पुग्दा काठमाडौंवासीको मेलम्ची खानेपानीको सपनामा ब्रेक लागेको थियो ।

 

तत्पश्चात् ११ वैशाख २०७९ मा अस्थायी रूपमा फेरि मेलम्चीको पानी काठमाडौं ल्याइएको थियो । बाढीबाट क्षति हुन नदिन भन्दै १७ जेठ २०७९ मा बन्द गरिएको पानी वितरण २३ मंसिरदेखि पुनः सुरु गरिएको थियो । वर्षामा हुने क्षतिलाई दृष्टिगत गरी गत जेठदेखि बन्द गरिएको खानेपानी मंसिर महिनामा पनि आउने हो कि होइन भन्ने निक्र्योल हुन सकेको छैन । गत २७ र २८ साउनमा आएको बाढीले पुनः क्षति पुगेपछि अन्योलता बढेकोे हो । बहुचर्चित मेलम्चीमा आएको बाढीका कारण क्षतिग्रस्त ठाउँसम्म पुग्ने सडक पनि नभएकाले पानी आउनेमा अन्योलता थपिएको हो । यद्यपि, दुई सातादेखि अस्थायी सडक निर्माणको काम भने थालिएको छ । सडक बनाउन मात्रै पनि एक महिना लाग्ने भनाइ आयोजनाको रहेको छ । बाढीले यस वर्ष क्षति पुगेको सुरुङमार्गको माटो तथा बालुवा पन्छाउन मात्रै १५ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । यो समाचार राजधानी दैनिकमा छ ।