-डा.डिआर उपाध्याय,

बर्तमान देउवा नेतृत्वको सरकारले जनताका तमाम समस्या समाधान गर्ने बाटोमा लाग्नु पर्छ । सरकार भनेको जनताको अभिभावक हो । जनताको दुख्खमा साथ दिन सरकार हर दिन तयार भएर बस्नु पर्छ । जनताले कर तिरेका हुन्छन् । जनताको करमा देशको शासन सत्ता चलेको हुन्छ । आपत बिपत पर्दा सरकारले जनताको पिर मर्का बुझन सक्नु पर्छ । आज जनता आपत बिपतमा पदै छन । गरिव निमुखा जनताको गाँस बाँस कपास सरकारले ब्यवस्था गरिदिनु पर्छ ।

गरिव निमुखा जनताको अबस्था अहिले के छ त्यो बुझन जरुरी भएको छ । कोरोना महामारीको त्रासले यी निमुखा गरिव जनताहरु त्रासमा छन । कोरोना महामारीको त्रासले कति दिन सताउने हो कुनै ठेगान छैन । गरिव निमुखा जनताको चुलो बलेको छ की छैन त्यो बुझन जरुरी छ । आज हरेक उपभोग्य सामानको भाउ निकै आकासिएको छ । यो महंगीले गरिव निमुखा जनताको चुलो बल्न सकेको छैन । गरिव जनताको पक्षमा सबैले गम्भिरताका साथ सोच्नु पर्ने बेला आएको छ ।

महामारीले थलिएका बिरामी बिहान उठेर तातोपानी तताएर पिउन सक्ने अवस्था छैन, ग्यास प्रतिसिलिन्डर १ हजार ५ सय ७५ रुपैयाँ पुगिसकेको छ । दिनौं सबै कुराको भाउ अकासिँदै गइरहेको छ । महंगीले सर्वसाधारणको साँझबिहानको जीवन निकै कष्टकर बनाइरहेको छ । ओमिक्रोन महामारी संक्रमणको ग्राफ पनि उकालो चढिरहेको छ । जनजीवन वास्तवमा अहिले आएर निकै कष्टप्रद हुन पुगेको छ । यतिबेला मानिससँग महामारीविरुद्ध लड्न थप इम्युनिटी पावरको आवश्यकता छ । तर, सर्वसाधारणले यति नै बेला राम्रा् संग खान पाउन समेत सकेका छैनन् ।

गरिव निमुखा जनता साँझबिहानको चुलो कसरी बाल्ने भन्ने चिन्तामा छन । यस्तो अबस्थामा नागरिक कोरोनासँग कसरी लड्न सक्ने ? यो गम्भीर प्रश्न हो । सरकारले यसको जवाफ तत्काल दिनुपर्छ ।शिक्षा, स्वास्थ्य, गास, बास, कपास, नुनतेल तथा अन्य सबै सेवा नागरिकले. सहज रुपमा पाउनु पर्छ । देशलाई आत्मनिर्भर बनाउन सरकार गम्भिर रुपमा लाग्नु पर्छ ।

गाउँहरू तथा दूरदराजका जनताको अबस्था झन नाजुक छ । हामी परनिर्भर बनिरहेका छौ । यसरी मुलुकको भाग्य र भबिश्य निर्माण हुदैन । नेपाली आत्मनिर्भर कहिले बन्र्ने ? हाम्रो जीवनशैलीमा परिवर्तन गर्नु पर्ने आबश्यकता छ । अकासिएको महँगीले गरिव निमुखा जनताको ढाड सेकिएको छ । आफू कसरी पालिने र आफ्ना साना बालबच्चा कसरी पाल्ने भन्ने चिन्ताले गरिव निमुखा जनता पिरोल्लिएका छन । शहर बजारमा कोठाभाडा निकै महँगो छ ।गरिव निमुखा जनता कोठाभाडा तिर्न समेत समस्यामा छन । उनीहरुलाई दुई छाक पेटभरि खान समेत समस्या छ ।