कोरोना भाइरसको संक्रमण फैलिएपछि पटक-पटक स्थगित हुँदै आएको  नेपाल उद्योग वाणिज्य महासंघको आगामी ५४ औँ साधारण सभाको नयाँ मिति तोकिएको छ । शुक्रबार बसेको महासंघको पदाधिकारी बैठकले आगामी मंसिर ११ र १२ गते काठमाडौंमा हुने गरी नयाँ मिति तय गरेको हो । यसअघि २ पटकसम्म साधारणसभाको मिति तोकिए पनि अन्तिम समयमा आएर स्थगित भएको थियो ।

शुक्रबार बसेको पदाधिकारी बैठकले चाडपर्व सकिएपछि काठमाडौंमै साधारणसभा गर्ने निर्णय गरेको हो। साथै आजको निर्णयलाई आगामी असोज ११ वा १२ गते बस्ने कार्यसमिति बैठकले अनुमोदन गर्नेछ। चैत २८ र २९ गतेका लागि साधारणसभाको मिति तय गरिपनि कोरोना संक्रमणको कारण स्थगित भएको थियो।

त्यस्तै लकडाउन खुकुलो भएसँगै साउनको २६ र २७ मा साधारण सभा गर्ने नयाँ मिति तय गरेको थियो । तर, सरकारले सबै प्रकारका सभा, गोष्ठी, तालिम, सेमिनार, प्रदर्शन, भेला तथा सम्मेलन गर्न लगाएको प्रतिबन्ध कायमै रहेपछि महासंघले साधारणसभा स्थगित गर्ने निर्णय गरेको थियो ।