मलाई नियतवश विवादमा ल्याइयो, कुनै गल्ती नभेटिएपछि राजनीतिक रुपमा कमजोर बनाउन अफवाह फैलाइयो । म मेरो जन्मभूमिको सधैं सम्मान गर्छु, राष्ट्रियताप्रति प्रतिबद्ध छु र रहिरहनेछु : नेकपा एकीकृत समाजवादीका उपमहासचिव तथा प्रमुख सचेतक मेटमणि चौधरी

नेकपा एकीकृत समाजवादीका उपमहासचिव तथा प्रमुख सचेतक मेटमणि चौधरीले आफ्नो अन्तिम सास रहुन्जेल देशको सार्वभौमिकता र अखण्डताप्रति बफादार रहेको स्पष्ट पारेका छन् ।
चौधरीले आफु राष्ट्र र राष्ट्रियताप्रति सधैं प्रतिबद्ध रहेको भन्दै देश र जनता नै आफ्नो पहिलो प्राथमिकता रहेको समेत बताए । उनले भने, ‘म हिजो पनि, आज पनि र मेरो अन्तिम सास रहुन्जेल नेपाल र नेपालको सार्वभौमिकता र अखण्डताप्रति प्रतिबद्ध छु ।’

केही दिन अघि चौधरीले एक टेलिभिजनमा दिएको अन्तरवार्ताको केही अंश सामाजिक संजालमा राखेर चौधरीमाथि प्रश्न उठाइएको सन्दर्भमा चौधरीले आफ्नो राष्ट्रियताप्रतिको अडान र प्रतिबद्धतालाई दोहोर्याएका हुन् ।
नेकपा एसका उपमहासचिव चौधरीले भने, ‘अन्तरवार्ताका क्रममा महाकाली नदी पूर्व नेपालको भूगोल हो र लिपुलेक, कालापानी नेपालकै भूभाग हो भनि स्पष्ट रुपमा भनेको छु । २०१५ सालको आम निर्वाचनमा उक्त भुभागका जनताहरु हाम्रै मतदाताहरु समेत भएको र तिरो तिरेको रसिद पनि रहेकोले सबै प्रमाणहरु पुग्छ भनि भनेको छु । मिति २०५३ साल असोज ४ गते भएको महाकाली सन्धीमा महाकाली नदी र यसमा लगानी, उत्पादन भएको बिजुलीमा आधा आधा सिद्धान्त बमोजिमको सन्धी भएकाले भारतले दाबी गरिरहेको हो । र उक्त दाबी पुगिरहेको तर्कहरु गरिरहेको छ ।
मेरो मनसाय तत्कालिन समयमा हामीले गरेको कमजोरीको कारणले भारतको दाबी पुगेको हो भन्ने मात्र भनेको छु । र त्यो भूमि भारतको भनेर भनेको छु, न त त्यस्तो आशय नै व्यक्त गरेको छु ।’

चौधरीले आफुले दिएको अन्तरवार्ताको पूरै भिडियो हेरिदिन र त्यसपछि मात्र यसबारेमा धारणा बनाउन समेत विशेष अपिल गरेका छन् ।
उनले थपे, ‘अहिले पनि अन्तरवार्ताको पूरा भिडियो सुरक्षित नै छ । अघि पछि बोलेका सबै वाक्यहरु काटेर भूमिमा भारतको दाबी पुग्छ भनेको भनाईलाई मात्र राखेर प्रचार गरिएको छ । जुन नियतवश हो भनेर प्रष्ट बुझ्न सकिन्छ । यस विषयमा कोही पनि भ्रमित हुन जरुरी छैन ।’ चौधरीले भने, ‘राष्ट्र मेरो पहिलो प्राथकिता हो । राष्ट्रप्रति आइपर्ने जुनसुकै समस्यासँग जुध्न सधैं लागिपर्नेछु ।’ म मेरो जीवन रहुन्जेल मेरो देश र देशभक्ति प्रति पूर्ण निष्ठावान् छु र रहिरहनेछु । मेरो जीवनको विगतले पनि राष्ट्र र राष्ट्रियताप्रति म सधैं अविचलित छु भन्ने प्रमाणित गर्दछ ।’

चौधरीले यसबीचमा आफुलाई सल्लाह, सुझाव र मार्गनिर्देशन दिने सबैलाई धन्यवाद समेत दिएका छन् ।
उनले भने, ‘सामाजिक संजाल लगायतका विभिन्न माध्यमबाट ध्यानाकर्षण गराई सुझाव दिनुहुने सम्पूर्ण शुभेच्छुकहरुमा हार्दिक आभार व्यक्त गर्दछु । मेरो अभिव्यक्ति कोही कसैलाई चोट पुग्न गएको प्रति क्षमा याचना गर्न चाहन्छु ।’