नेपाली कांग्रेसले महामन्त्री गगन थापाको प्रस्तावलाई पारित गरेको छ। २०८० फागुनमा ललितपुरको गोदावरीमा भएको महासमिति बैठकमा गगनले अबका निर्वाचन एक्लै लड्ने गरी गरेको प्रस्तावलाई आइतबार बसेको केन्द्रीय कार्यसमिति बैठकले पारित गरेको हो ।

कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले सानेपा बसेको बैठकपछि यसबारेमा जानकारी दिएका हुन्।

‘विगतमा एउटा विशिष्ठ परिस्थितिमा गठबन्धन गर्नुपरेको थियो । यो ५ वर्षको अवधिसम्म राजनीतिक इमानदारिताका साथ मिलेर अघि बढ्ने कोसिस गर्‍यौँ’, उनले भने, ‘हाम्रो प्रयासका बावजुद समस्या आए । विगतमा पार्टीले विशेष परिस्थितिका कारण गठबन्धन गरेर चुनाव लडे पनि कांग्रेस महासमितिको ब‌ैठकबाट हाम्रो आफ्नै संगठनलाई बलियो बनाई अबका चुनाव एक्लै लड्ने निर्णय भएको छ ।’

केन्द्रीय सदस्य शिवाकोटलीले भने जस्तै आइतबारको केन्द्रीय कार्यसमिति ब‌ैठकले २०८४ मा हुने आमनिर्वाचनसहितका चुनावमा एक्लै लड्ने निर्णय भएको छ। महामन्त्री थापाले आगामी चुनावमा एक्लै लड्ने प्रस्ताव गोदावरीमा भएको महासमिति बैठकमा राखेका थिए ।