राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गैँडा मारी खाग ओसारपसार र बिक्री वितरणमा संलग्न रहेको आरोपमा आठ जनालाई पक्राउ गरेको छ । उनीहरुलाई आज चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसरामा सार्वजनिक गरिएको हो । पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका–३, लेर्बटका ३३ बर्षीय रमेश खाती, राक्सिराङ गाउँपालिका–९ का ४४ बर्षका शम्शेर थिङ र मनहरि गाउँपलिका–६ नयाँवस्तीका ५६ बर्षीय थिङ बाजे भन्ने सीताराम थिङ छन् ।

उनीहरु घटनामा मुख्य नाइके भएको प्रहरीको दाबी छ । तीनै जनालाई प्रहरीले राप्ती नगरपालिका–६ बाट पक्राउ गरेको थियो । चितवनको राप्ती नगरपालिका–११ ठाकलटार बस्ने ४२ बर्षका पासाङ भनिने आइतेसिंह मोक्तान, थाकलटारका ४० बर्षीय उनबहादुर स्याङ्तान, मकवानपुरको मनहरि गाउँपालिका–७ ज्यामिरेका स्याङ्बो भनिने इन्द्रबहादुर तामाङलाई पनि प्रहरीले पक्राउ गरेको छ । आइतेसिंह, उनबहादुर र इन्द्रबहादुर गैंडा मार्ने सिकारी भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । यस्तै रोल्पा सुनछहारी गाउँपालिका–६ फगाम घर भई हाल मकवानपुर हेटौंडा–५ बस्ने २८ बर्षका अर्जुन रोका र गोरखा वारपाक घर भई भरतपुर महानगरपालिका–११ लामाटोल बस्ने ७७ बर्षका धनबहादुर गुरूङ पनि पक्राउ परेका छन् । दुबैले खाग बिक्री वितरण गर्न भूमिका खेलेका थिए । ६ जनालाई मंसिर ९ गते पक्राउ तथा उनबहादुर र इन्द्रबहादुर ११ गते पक्राउ गरिएकाे हाे । उनीहरुकाे साथबाट दुई थान गैँडाको खाग, भरुवा बन्दुक एक थान, बिँड नभएको बञ्चरो एक थान, कालो झोला, चक्कु, भरुवा बन्दुकमा प्रयोग हुने फलामका टुक्रा, गुलेली, टर्च लाइट, डिक्ची, पटका बारुद, दुई थान मोटरसाइकल लगायतका सामग्री बरामद गरिएको छ । पक्राउ परेकामध्ये मुख्य योजनाकार मानिएका रमेश खाती यसअघि पनि पक्राउ परेर छुटेका व्यक्ति हुन् । अघिल्ला घटनाहरुमा अनुसन्धानका क्रममा गैंडा मार्ने तथा खाग किनबेच गर्ने काममा संलग्न नदेखिएको भन्दै छुटेका उनी यो घटनामा भने योजनाकार भएको निकुञ्जको दाबी छ । अन्य भने यस्तो घटनामा पहिलो पटक सहभागी भएको देखिएको सीआईबीका एसएसपी प्रवक्ता नवराज अधिकारीले बताए ।

उनका अनुसार खाग कहाँ लगेर बेच्ने भन्ने योजना विनै गैंडा मारेका थिए । गैंडा मारेपछि ग्राहक खोजीमा लागेका थिए । सीआईबीका अनुसन्धान अधिकृतहरु खाग किन्ने ग्राहक बनेर उनीहरुसम्म पुगेका थिए ।