राष्ट्रिय प्राजातन्त्र पार्टी (राप्रपा) का यूवा नेता विनय रावलले गणतान्त्रिक व्यवस्थाले जनतालाई दु:ख र शास्ती मात्रै दिएको टिप्पणी गरेका छन् ।

 

सोमबार राष्ट्रप्रेस संग कुरा गर्दै उनले भने : `याे व्यवस्था संग केही दशक देखि जुका टाँसिएझैँ टाँसिरहेका नेतृत्वहरूलाई नबदलिकन नेपाली जनताले दुख:, शास्ति बाहेक केहि पनि पाउनेवाला छैनन् ।´ यस्तै उनले गणतन्त्रमा कालोबजारी, भ्रष्टाचार जन्य गतिविधिहरुले देश डुबेको बताउदै  महँगी, कुशासन र दण्डहीनताबाट मुलुक अप्ठेरो स्थितिमा गुज्रिएको प्रती दुःख समेत व्यक्त गरे ।

 

राप्रपाको केन्द्रीय सदस्य समेत रहेका नेता रावलले विदेशीको इसरामा चल्ने नेतृत्व र सत्ता स्वार्थको लागि आफ्नो राष्ट्रियतालाई समेत दाउमा राख्न पछि नपर्ने गणतान्त्रिक नेताहरुको प्रवृतिका कारण भोलि नेपाल भन्ने देश रहन्छ वा रहदैन भन्ने कुरामा पनि शंका गर्नुपर्ने स्थिति आएको बताए ।

 

नेता रावलले देशका सिमानाहरु नासिदै गइरहेका बेला टुलुटुलु हेरेर बस्ने सरकार र नेतृत्वबाट कुनै पनि आस गर्न नसकिने टिप्पणी गरे । यस्तै उनले सरकारमा रहेका व्यक्तिहरुबाटै नेपाली नागरिकहरु शरणार्थीको रुपमा बेचिनु भनेको दु:खद कुरा भएको समेत बताए । यस्तै उनले पछिल्लो तिस वर्ष देखि यताको नेतृत्व काण्डैकाण्डमा जोडिदै आएकोले यो लोकतान्त्रिक व्यवस्थाका हिमायती भनिनेहरुबाट नेपालको समृद्धि सम्भव नभएको बताए ।

 

उनले लाउडा काण्ड, धमिजा काण्ड हुँदै पछिल्लो समयका चर्चित सुनकाण्ड, सरकारी जग्गामाथिको दोहन जस्ता काण्डहरुका नाइके नै यो व्यवस्थाका शासक भएको टिप्पणी गरे ।

 

नेता रावलले यस्तो मौलाउदै गएको विकृति र विसंगतीका मुनाहरुलाई निमिट्यान्न पार्दै यस्ता कुकृत्यका विरुद्ध लड्न व्यवस्था नै परिवर्तन गर्नुपर्ने र त्यसको लागि जनता जाग्न आवश्यक रहेको जीकिर गरे  ।