अर्थमन्त्री जनार्दन शर्माले जलवायु–निर्भर अर्थतन्त्र र सीमित अनुकूलन क्षमताका कारण नेपाल जलवायु परिवर्तनका लागि विश्वको सबैभन्दा जोखिममा रहेका देशहरूमध्ये पर्ने बताएका छन्।

दक्षिण कोरियाको इन्चोंनमा आज आयोजित दोस्रो हरित जलवायु कोषको प्रोग्रामिङ सम्मेलनलाई सम्बोधन गर्दै उनले नेपाल जलवायु परिवर्तनका कारण सङ्कटमा पर्ने अवस्थामा पुगेको बताए। आजदेखि सुरु भएको सम्मेलन बिहीबारसम्म चल्नेछ ।

विश्वव्यापी रुपमा भएको तापक्रमको वृद्धिले विभिन्न प्राकृतिक प्रकोपमा वृद्धि भएको, हिमनदी तालको विस्फोट, बाढी, पहिरो आदिको प्रभावमा वृद्धि भएको उनको भनाइ छ । विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा न्यून योगदान भए पनि अल्पविकसित देशहरूले जलवायु परिवर्तनको प्रभाव महसुस गरिरहेको उनको भनाइ छ ।