राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा )का युवा नेता तथा पार्टीका केन्द्रीय सामाजिक विभाग प्रमुख विनय रावलले एक नाबालकलाई आर्थिक सहयोग गरेका छन् । उनले बर्दियाको गेरुवा गाउँपालिका वडा नं. ४ गोबिनपुर घर भएका भरत परियार र ममता परियारका ७ महिने नावालक छोरा अनमोल परियारलाई बीस हजार रुपैयाँ सहयोग गरेका हुन् ।

आर्थिक अवस्था कमजोर भएकाले एक दलित परिवारका नाबालकको उपचार गर्न कठिन भइरहेको खबर पाउनासाथ नेता रावलले उनिहरु संग तत्काल सम्पर्क गरि घरमै पुगेर आर्थिक सहयोग गर्ने विश्वास दिलाएका थिए । तर उनी आफू काठमाडौँमा रहेको र बर्दिया पुग्न समय लाग्ने भएकाले त्यतिबेला सम्म बालकको स्वास्थ्य अवस्थामा समस्या आउन सक्ने भन्दै पीडित परिवारकै खातामा पैँसा सहयोग गरेका हुन् ।

नेता रावलको सहयोग पछि उपचारमा सहज हुने भन्दै पीडित परिवारले खुसी व्यक्त गरेका छन् । समस्त बर्दियाली नागरिकको जीवन पद्धति, बर्दिया जिल्लाको स्वर्णिम परिवर्तनको अभिलासा बोकी राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट बर्दिया- २ मा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी घोषणा गरेका नेता रावलले बेटर एण्ड ब्राइटर बर्दिया मार्फत बर्दियाको अवधारणा, पर्यटन, कृषि, शिक्षा र स्वास्थ्यको बिषयमा बहस गर्दै आएका छन् ।
प्रत्येक असहाय नागरिकहरुको सेवक बन्दै उनीहरुको समस्या संग जोडिने गरेका नेता रावलले बर्दियाबासी जनताको परिवर्तन चाहेको बताउदै आएका छन् ।

बर्दिया जिल्लाका हरेक समस्याहरूमा अग्रपंक्तिमा रहेर सहयोग सद्भाव तथा समुन्नत र समृद्ध बर्दिया निर्माणको लागि अनवरत रूपमा लागिरहेका नेता रावलले समस्यामा परेका थुप्रै परिवारलाई सहयोग गरिसकेका छन् ।

उनले केही समय अगाडी मिस्टर एण्ड मिस थारू २०२२ को उपाधि जित्न सफल लाल बहादुर रत्गैया र अस्मिता राजवंशीसँग भेट गर्दै थारू समुदायका कला र संस्कृतिको उत्थान, संरक्षण र जगेर्ना गर्न आफू सँधै निरन्तर लागिरहने विश्वास दिलाएका थिए । साथै उनले मिस राजवंशी चौधरीलाई काम खोजेर रोजगारी दिलाउने वचनका साथ आफ्नो अध्ययनलाई निरन्तरता दिन अनुरोध समेत गरेका थिए । नेता रावल राष्ट्र बैंकका पूर्व गभर्नर डा. तिलक रावलका छोरा हुन् ।