सरकारले लकडाउनको मोडालिटीमा केही फेरबदल गर्ने तयारी गरेको छ । स्थान र जोखिमको अवस्था हेरेर लकडाउनलाई केही खुकुलो बनाउने सरकारको तयारी छ ।  lसरकारले शनिबार जेठ मसान्त सम्म लकडाउन लम्ब्याउने निर्णय गरेसँगै यो अवधिमा नयाँ ढाँचा तयार गर्न कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिलाई निर्देशन दिएको थियो ।

मंगलबार समितिको बैठक बोलाइएको छ । २१ गतेबाट नै लकडाउनको ढाँचामा केही परिवर्तन हुने अनुमान गरिएको छ ।यसअघि खाद्यान्न, कृषि, निर्माणलगायत अत्यावश्यक गरी झन्डै ४० प्रकारका सेवासँग सम्बन्धित कलकारखानामा सामाजिक दूरी र स्वास्थ्य सावधानी अपनाएर काम गर्न सक्ने निर्णय मन्त्रिपरिषद्ले गरिसकेको छ । संक्रमितहरूको अवस्था, त्यहाँको जनसंख्या, स्वास्थ्य उपचारको सम्भावित उपलब्धता हेरेर ठाउँ विशेषमा लकडाउनको ढाँचा परिवर्तन गर्ने तयारी भइरहेको छ  ।  हाल कम जोखिम देखिएका हिमाली, पहाडी जिल्ला र काठमाडौं उपत्यकालगायतमा आवागमन खुकुलो बनाइने सम्भावना छ ।