कर्मचारी सञ्चय कोषले कोरोना भाइरसका कारण सरकारले लागू गरेको लकडाउनसँगै बन्द रहेका कोषका सेवामध्ये हाललाई विशेष सापटी सेवा अनलाइनमामार्फत लिन सकिने गरी सञ्चालन गर्ने भएको छ । कोरोना का कारण गत चैत ११ गतेदेखि सरकारले लकडाउन लागू गरेसँगै कोषका सेवा बन्द गरिँदै आए पनि आइतबारदेखि अनलाइनमार्फत विशेष सापटी सेवा सञ्चालन गर्ने तयारी गरिएको कोषले विज्ञप्तिमार्फत जानकारी दिएको छ । हाललाई यो सेवा विशेष सापटी लिन योग्यता पुगेका र केवाइसी अपडेट गरेका सञ्चयकर्ताले प्राप्त गर्न सक्नेछन । त्यसका लागि सञ्चयकर्ताले कोषको वेबसाइटमा गई प्राप्त निर्देशनअनुसार अनलाइन फाराम भरी सोसँगै विशेष सापटीको आवेदन फाराम भरी स्क्यान कपी अपलोड गरेर पठाउनुपर्ने हुन्छ ।